२ मंसिर २०८१, आईतवार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीवार(आज) करीब २ घन्टा भएको छलफलमा सभामुख चयन, अमेरिकी सहयोग(एमसीसी) लगायतका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीचको भेटवार्ता सकिएको जानकारी दिए । तर, दुई अध्यक्षबीचको छलफलमा भने सभामुखबारे टुंगो लागेन ।
नयाँ सभामुख चयनका विषयमा देखिएको गतिरोध अन्त्य हुने दिशातर्फ छलफल अघि बढेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दियो । नेकपामा सभामुख चयनका विषयमा विवाद देखिएको छ ।
ओली सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन अडान लिएका छन् । उता उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाउनु पर्ने लविङ राष्ट्रपति कार्यालय शीतलनिवासबाट भएको कारण समस्या उत्पन्न भएको नेकपाका नेताहरुको भनाइ छ ।
नेकपाका दुई अध्यक्षबीच आइतवार यता छलफल हुन सकेको थिएन । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपा सचिवालय बैठकले शनिवार गरेको निर्णयपछि आइतवार दुई अध्यक्षसहित उपसभामुख तुम्बाहाङ्फेको बैठक बालुवाटारमा बसेको थियो ।
तर उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेकी थिइन् । प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन स्पष्ट निर्देशन नदिएको भन्दै अर्का अध्यक्ष प्रचण्ड ओलीसँग रिसाएका उनी निकट नेताहरुले बताउँदै आएका थिए ।