२ मंसिर २०८१, आईतवार
प्रतिनिधि सभाका सभामुखको लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले माघ १२ गतेका लागि सभामुख निर्वाचनको मिति तोकेका हुन् ।
नेकपाबाट यसअघि सभामुख बनेका कृष्णबहादुर महरा बलात्कार मुद्दामा हाल डिल्लीबजार कारागारमा छन् । संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालिन सभामुख महराले राजीनामा गरेपछि सभामुख पद रिक्त थियो ।
त्यसअघि सोमबारै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी थिइन् । संसद बैठकमा तुम्वाहाङफेको राजीनामा पत्र पढेर सुनाइएको थियो ।
नेकपाले सभामुखको लागि अग्नि सापकोटाको नाम प्रस्ताव गरिसकेको छ । कांग्रेसले भने अझै उम्मेदवारको घोषणा गरेको छैन ।
संसद सचिवालयले प्रकाशन गरेको तालिका अनुसार आज मंगलबार ११ बजेदेखि २ बजेसम्म सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने, मंगलबार नै दर्ता भएका उम्मेदवारीको सूची प्रकाशन गर्ने र १२ गते आइतबार ३ बजे प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत हुने छ । त्यसपछि प्रतिनिधिसभाले नयाँ सभामुख पाउनेछ ।
यस्तो छ निर्वाचन तालिका