२ मंसिर २०८१, आईतवार
केन्द्रीयतहका नेता नआउँदा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सुनसान छ । गुट, उपगुटले ग्रस्त पार्टीका केन्द्रीयतहका नेताहरु भने आफ्नै कार्यालय खोल्न कस्सिएका छन् ।
प्रायः नेताले आफ्नै घरबाट आफ्नो गुट चलाइरहेको बेला १४औं महाधिवेशनलाई लक्षित गरेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोल्दैछन् । कार्यालय खोल्न उनले भवन भाडामा लिइसकेका छन् । सोमबारबाट कार्यालय औपचारिकरुपमै सुरु गर्ने तयारी भएको पौडेल निकट स्रोतले बतायो ।
पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा आगामी महाधिवेशनको मिति तोके लगत्तै पार्टीभित्र आन्तरिक किचलो बढेसँगै उनलाई सभापतिमा टक्कर दिने नेताको खोजीसमेत सुरु भइरहेको छ । संस्थापनइतर समूहले देउवालाई टक्कर दिने एकल नेताको चयन भने गरिसकेका छैनन् ।
महामन्त्री सशांक कोइराला र शेखर कोइराला आ–आफ्नै तरिकाले सभापतिको आशांक्षीको रुपमा महाधिवेशनको तयारी गरिरहेका छन् ।
आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा पौडेलको नाम पुछारतिर पुगेको बेला उनले छुट्टै कार्यालय नै खोलेर आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरेका हुन् ।