सुरक्षा माग गर्दै मनाङेविरुद्ध उजुरी

होमल्याण्ड खबर

२०७६ माघ ८ गते, बुधबार १४:०८ मा प्रकाशित

देश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको झापड खाएका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले सुरक्षा माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने बताएका छन् । यो समाचार तयार पार्दासम्म उनले उजुरी भने नदिएको प्रहरी र प्रशासनले जानकारी दिएको छ ।

मंगलबारको घटनापछि बुधबार पत्रकार सम्मेलन गरेर एन्फा अध्यक्षले जीउधनको सुरक्षा माग गर्दै निवेदन दिने बताएका हुन् । मंगलबार नै उनले निवेदन दिन खोजे तापनि प्रहरीले रितपूर्वक जाहेरी नआएको भन्दै फर्काएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै उनले, आफू संयमित नभएको भए प्रदेशकै पहिलो मुख्यमन्त्री कप फुटबल प्रतियोगिता नै रोकिन सक्ने बताए ।
“मैले गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सफल बनाउनेछु, म पनि वादविवादमा उत्रेको भए, ऊ (मनाङे) र मेरो बिचमा केही फरक हुने थिएन, म संयमित भएँ, सांसदको मान राखिदिएँ ।” उनले भने ।

मंगलबारदेखि पोखराको भण्डारढिकमा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यक्रममा आउनुपूर्व उनकै सत्तारुढ दल नेकपाका सांसद मनाङेले सार्वजनिक रुपमा नै तीन झापड प्रहार गरेका थिए ।