अस्ट्रेलियाको बिग ब्यास छाडेर स्वदेश फर्कदै सन्दीप

होमल्याण्ड खबर

२०७६ माघ १२ गते, आईतवार १२:४८ मा प्रकाशित

सन्दीप लामिछाने सोमबार स्वदेश फर्कने भएका छन् । अस्ट्रेलियाको बिग ब्यास लिग खेलरहेका सन्दीप बीचैमा स्वदेश फर्कन लागेका हुन् ।

जारी सिजनमा मेलवर्न स्टार्सका लागि सन्दीपले १३ खेल खेल्दै १५ विकेट लिएका थिए । सन्दीप नेपालको राष्ट्रिय टिमबाट खेल्नका लागि बिग ब्यास बीचमै छाडेर स्वदेश फर्कन लागेका हुन् ।

नेपालले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानसँग कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिकोणात्मक सिरिज खेल्दैछ ।

सन्दीपले शनिबार मेलवर्नबाट सिजनको १३औं खेल खेलेका थिए । जहाँ उनले १ विकेट लिँदा १६ रन मात्र खर्किएका थिए ।

जारी सिजनमा प्रभावकारी देखिएका सन्दीप स्वदेश फर्कने भएपछि मेलवर्नले उनको स्थानमा उत्तम बिकल्प ल्याउन सोच्नु पर्ने देखिएको छ ।

‘सिजनमा स्पिनमाथि निकै विश्वास गरेको थिएँ,’ मेलवर्नका प्रशिक्षक डेभिड हसीले भने । हसीले लामिछाने उत्कृष्ट खेलाडी भएको भन्दै अघि थपे,’उनी मेलवर्न छाड्दै छन्। उनी स्तरीय खेलाडी हुन् । स्तरीय मानिस हुन् र प्रतियोगितामा हाम्रो योजनाका एक पक्ष हुन् ।’

हसीले राष्ट्रिय टिमबाट खेल्न बोलाउदा खुसी हुनु पर्ने बताए । ‘तर राष्ट्रिय टिमबाट बोलाइन्छ भने खुसी मनाउनु पर्छ। एउटा उत्कृष्ट खेलाडी गुमाउदा दु:ख त लागेको छ। तर उनका लागि खुसी छु,’ हसीले भने,’हाम्रा लागि उनी पछिल्लो २ वर्षमा उत्कृषट रहे । तर दुर्भाग्यवस उनी फर्कनु पर्ने भयो । उनीले मेलवर्नबाट फाइनल खेल्नेछैनन् ।’