३ मंसिर २०८१, सोमबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् ।
बुधबार सुरु भएको नेकपा बैठकमा ४४१ जना केन्द्रीय सदस्यले विभिन्न १५ वटा समूह बनाई छलफल गरी आफ्ना विभिन्न सुझाव सहित रिपोर्ट प्रस्तुत गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमा माथि छलफल गर्ने जिम्मेवारी पाएका समूहले पार्टी र सरकार सुदृढ बनाउन विभिन्न सुझावहरु पेश गरेका छन् ।
दिउँसो १ बजे राष्ट्रियसभा गृहमा सुरु हुने बैठकमा अध्यक्षद्वय र महासचिवको प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची रहेको नेकपाका प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिए ।
समूहको सुझावमा एमसीसीमा पार्टीेले साझा धारणा बनाउनु पर्ने, सरकारको कामकारवाही प्रभावकारी बनाउनु पर्ने, पार्टीभित्रको गुटबन्दीको अन्त्य हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण आफैँबाट सुरुवात हुनुपर्ने लगायतका माग छन् ।
यस्तै, नेताको सम्पत्तिको छानविन गर्नु पर्ने, शिक्षा र स्वास्थ्यमा लगानी बन्द गर्नु पर्ने, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने माग समेत गरिएको छ ।
समूहका नेताले पार्टीमा केन्द्रमा मात्र नभई सबै कमिटीमा उपाध्यक्ष पद खडा गर्नु पर्ने, सबै कमिटीमा ३३ महिला सहभागिता अनिवार्य गर्नु पर्ने लगायत सुझाव पेश गरेका हुन् ।
आजै नेकपा सचिवालय बैठक पनि बस्दैछ ।