आज प्रतिनिधिसभाको बैठक बस्दै

होमल्याण्ड खबर

२०७६ माघ २८ गते, मंगलवार १०:०३ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । यसअघि नेपाली काँग्रेसले पटक पटक अवरोध गरेपछि स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको हो ।

आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठक सञ्चालन भएमा आज कारागार विधेयक २०७६ बैठकमा पेश हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमाण (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछिन् ।

यसैबीच, बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बस्दैछ । बिहान साढे १० बजे सिंहदरबारमा बस्ने बैठकले आजको बैठक चल्न दिने/नदिने भन्ने निर्णय गर्ने बताइएको छ ।