३ मंसिर २०८१, सोमबार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गत वर्षहरुमा जस्तै यस वर्ष पनि जनआन्दोलन तथा ‘जनयुद्ध’ दिवस मनाउने भएको छ ।
दिवसका दिन सञ्चालन गरिने कार्यक्रमलाई सफल पार्नको लागि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने पार्टीले जनाएको छ ।
तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध थालनी गरेको दिनलाई ‘जनयुद्ध’ दिवसका रुपमा मनाउँने प्रचलन रहि आएको छ ।
माओवादी र तत्कालीन नेकपा एमालेबीच एकीकरण भएर बनेको नेकपाले गत वर्ष जनआन्दोलन तथा ‘जनयुद्ध’ दिवस मनाएको थियो । त्यति बेला आयोजित कार्यक्रममा ओली उपस्थित भएका थिएनन् ।
यसपाली भने फागुन १ गते बिहीबारको दिन नेकपा पार्टी कार्यालय धुम्बाराहीमा हुने कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने पार्टीले जनाएको छ ।
केन्द्रीय कार्यालयका सूचना अनुसार बिहीबार बिहान ९ बजे अध्यक्षद्वय ओली तथा दाहाल जनआन्दोलन र जनयुद्धका सहिदहरुको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित हुनेछन् ।
पार्टी एकीकरणपछि नेकपाले गएको वर्ष नै जनयुद्ध दिवस मनाउने निर्णय गरेको थियो । नेकपाले पार्टीका नेता तथा कार्यकर्तालाई पनि कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ ।