जनयुद्ध धक्का खानुमा मूल नेतृत्वको गद्दारीः मोहन वैद्य

होमल्याण्ड खबर

२०७६ फाल्गुन १ गते, बिहीबार १३:१४ मा प्रकाशित

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण)ले मूल नेतृत्वको गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खाएको जनाएका छन् । २५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले उक्त कुरा भनेका हुन् । उनले बिज्ञप्तिमा भनेका छन् ‘माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको छ ।

तत्कालीन माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै वैद्यले भनेका छन् ‘दश वर्षको महान जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन् ।

उनले विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारी पार्टीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न आह्वान समेत गरेका छन् ।

प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेको थियो । सरकार र माओवादी दुवै पक्षबाट १७ हजार जनाको ज्यान गएको सोही युद्धलाई ‘जनयुद्ध’ भन्ने गरिन्छ । २०६३ मंसिर ५ गते हतियार बिसाउँदै शान्ति प्रक्रियामा आएको माओवादी बिभाजन भएर वैद्य समूह अलग भएको थियो । प्रचण्ड नेतृत्वको माओवादीले भने तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेको थियो ।

हाल प्रचण्ड एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष छन् ।