१४ मंसिर २०८१, शुक्रबार
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा वार्षिक ९ अर्व नाघेकाे बताएका छन् ।
आइतबार काठमाडौंमा ड्याफोडिल स्कुलद्धारा आयोजित ‘रेमिट्यान्स फर बेटर लाइफ’ कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको समेत जानकारी दिए । सोह्र वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारीमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणत्मक नाफा गर्न सफल भएको उनले बताए ।
विद्युत प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब प्राधिकरण लोडसेडिङ अन्त्य गरेर विद्युत प्रशारण र वितरणको सुदृढीकरणमा केन्द्रीत भएको छ ।’
घिसिङका अनुसार विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो ।
२०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकका रुपमा प्राधिकरण प्रवेश गरेका थिए । उनि आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ आएको ११ महिनामा नै घाटा घटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भएको थियो ।
घिसिङले सफलताका लागि सधैँ संघर्ष गर्नुपर्ने भन्दै सफलता नै जीवनको चुनौती भएको जिकिर गर्दै विद्यार्थीलाई इमान्दारीता र मेहनत जारी राख्न उत्प्रेरित गरे । सोही कार्यक्रममार्फत घिसिङले युवाले विदेशमा दुःख गरेर पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्ने अधिकार कसैसँग नभएको बताए ।
कार्यक्रममा विद्यार्थीले रेमिट्यान्सको सदुपयोग गर्ने चेतनामुलक बाल–नाटक, वक्तित्वकला तथा विविध प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।