३ मंसिर २०८१, सोमबार
नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले ललिता निवास सरकारी जग्गा प्रकरणमा अख्तियारले सरकारको छायाँ बनेर काम गरेको भन्दै तिखो व्यंग्य गरेका छन् ।
आज बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका महासचिव एवम् सांसद विष्णु पौडेल र सरकारका प्रवक्ता गोकुल बास्कोटालाई व्यंग्य गरेका हुन्।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत स्वस्थानी कथामार्फत् व्यङ्ग गरे ।
स्वस्थानी ब्रत कथा वाचनको शैलीमा आफ्ना भनाई राख्दै उनले सामान चोर्ने र फर्काउने र दुई पटक विष्णु विष्णु गरेर उन्मुक्ति पाउन सकिने बताएका हुन् ।
थापाले सुनाएको कथा यस्तो छ,
कुमारजी आज्ञा गर्नुहुन्छ ।
विष्णुमणि,
अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु । थाहा पाइहाले होइन होइन भन्नु ।
चित्त बुझाउन नसकेर अप्ठेरोमा नै पर्न गए चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु ।
त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाम गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन् ।
इति श्री अख्तियार पुराणे, कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रतकथा बालुवाटार प्रकरण वर्णनम्, प्रथम अध्याय ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा व्यंग्य गरेका हुन् ।