डा. खतिवडाको सांसद पद गयो

होमल्याण्ड खबर

२०७६ फाल्गुन १४ गते, बुधबार १४:१६ मा प्रकाशित

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रियसभाको सांसद बनेका डा. युवराज खतिवडाको सांसद पद गएको छ । डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने निर्णय सत्तारुढ नेकपाले गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा. खतिवडाको कार्यकाल २० फागुनमा सकिँदैछ । डा. खतिवडालाई सांसद नबनाउने नेकपाको निर्णयसँगै अब उनको अर्थमन्त्री पद पनि जाने भएको छ ।

डा. खतिवडा सांसद बन्नुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएका थिए । डा. खतिवडा मन्त्री बनेपछि मात्रै राष्ट्रियसभाको सांसदमा मनोनित भएका थिए ।

प्रतिनिधिसभा वा राष्ट्रियसभाको सांसद नभएको व्यक्ति पनि ६ महिनाको लागि मन्त्री बनाउन पाइने संबैधानिक व्यवस्था अनुसार डा. खतिवडालाई मन्त्री बनाइएको थियो । निजी क्षेत्र तथा सत्तारुढ नेकपाका नेता कार्यकर्ताले समेत नरुचाएका डा. खतिवडा प्रधानमन्त्री ओलीको जोडबलमा मन्त्रीमा टिकिरहेका थिए ।

अब प्रधानमन्त्रीले अति जोडबल गरे पनि डा. खतिवडालाई बढीमा ६ महिना मात्रै मन्त्री बनाउन सक्नेछन् । तर, सचिवालयमा आफै अल्पमतमा परेका प्रधानमन्त्री ओलीले गैरसांसदलाई मन्त्री बनाइरहन कठिन छ । त्यसैकारण डा. खतिवडाको मन्त्री पद पनि जाने देखिन्छ ।