३ मंसिर २०८१, सोमबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक विभागका प्रमुखहरु मनोनित गरेका छन् ।
उनले कांग्रेसको विधानको धारा ३७ (१) (ग) अनुसार केन्द्रीय सदस्यहरुलाई विभागीय प्रमुखको जिम्मेवारी तोकेका हुन् ।
महाधिवेशन भएको ६ महिनामाभित्र गठन गर्नुपर्ने विभाग महाधिवेशन भएको ४ वर्षपछि शनिबार गठन गरेका हुन् ।
सभापति देउवाले गोपालमान श्रेष्ठलाई संगठन विभाग प्रमुखमा, प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख मनोनित गरेका छन् । यस्तै रमेश रिजाललाई संघीय मामिला, तथा प्रदेश समन्वय विभाग, फरमुल्लाह मन्सुरलाई मुस्लिम, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग र आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
यसैगरी, अजय चौरसियालाई तराई मधेस, शंकर भण्डारीलाई तरुण, सीता गुरुङलाई अदिवासी जनजाति, गोविन्द भट्टराईलाई नेपाल जनसम्पर्क, चिनकाजी श्रेष्ठलाई उद्योग ब्यापार र शिवप्रसाद हुमागाइँलाई श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखमा मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै देउवाले ५ नेतालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरेका छन् ।
दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत र सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई आमन्त्रित सदस्य मनोनित गरिएको मुख्यसचिव पौडेलले बताए ।