वजेट निर्माण लगायतमा एमालेले एक्लौटी गर्दै छ–दाहाल

होमल्याण्ड खबर

२०७५ बैशाख २५ गते, मंगलवार ०८:३८ मा प्रकाशित

सरकारका गतिविधिबारे माओवादी भित्र असन्तुष्टि चलिएको छ । सरकार सञ्चालनबारे सत्तारुढ दल माओवादी केन्द्रसंग एमालेले प्रशस्त छलफल नगरेको भन्दै माओवादी सांसदहरुले तीव्र असन्तुष्टि जनाएपछि यसबारे अध्यक्ष दाहालले कुरा गर्ने जनाएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा दाहालले आफू पनि सरकारका पछिल्ला गतिविधिबाट सन्तुष्ट नरहेको बताउँदै यसबारे तुरुन्त संसदमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने बताए । प्रिबजेटको छलफल सुरु हुन लाग्दा समेत सरकारका नेतृत्व गरेको एमालेले आफूहरुसंग कुनै छलफल नगरेको माओवादीले जनाएको छ ।
माओवादीका एक सांसदका अनुसार प्रचण्डले संयुक्त घोषणापत्र लिएर चुनावमा गए पनि नीति तथा कार्यक्रम एमालेले एकलौटी ढंगले तयार पारिरहेको गुनासो बैठकमा गरेका छन् ।
बजेट मात्र नभइ सरकार सञ्चालनका अरु विषयमा समेत दुई पार्टीबीच छलफल हुन नसकेको बताएको छन् । सांसदहरुले पनि संयुक्त सरकार भए पनि बजेट निर्माणका क्रममा आफ्ना कुरा नसुनिएको भन्दै सांसदहरुले अध्यक्ष दाहाललाई जानकारी गराएको सांसद राम कार्कीले जानकारी दिए ।
दाहालले यसबारे आज या भोलि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल गरिने बताए । राष्ट्रिय योजना आयोगले ढिलो पूर्णता पाउनु र नीति तथा कार्यक्रम निर्माणमा माओवादीको भूमिका कमजोर भएको सांसदहरुले जानकारी गराएपछि दाहालले यसबारे कुरा गर्ने जनाएका छन् ।