‘निटको’द्वारा सोनासँगको सहकार्यमा ‘द न्यू नर्मल’ सामूहिक भिडियो बहस आयोजना

होमल्याण्ड खबर

२०७७ जेष्ठ १० गते, शनिबार ०९:१५ मा प्रकाशित

निटको’ले सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)सँगको सहकार्यमा ‘द न्यू नर्मल’ विषयक सामूहिक भिडियो बहस गरेको छ ।

शुक्रबार आर्किटेक्ट प्रोफेसर डा.भरत शर्मा, निटकोका एमडी विवेक तल्वार तथा आर्किटेक्ट इन्जिनियरहरु अरुण देव पन्त, दामोदर आचार्य, डा.झर्ना जोशी, सुयोग कायस्थ र अर्जुन बस्नेतबीच भिडियो बहस सम्पन्न भएको हो ।

भिडियो बहसमा सहभागी आर्किटेक्ट इन्जिनियरहरुले कोरोना महामारीपछि आउने नयाँ अवस्थाको विषयमा बहस गरेका थिए । उनीहरुले भविष्यमा आइपर्ने जुनसुकै समस्यामा वस्तुकलाले कसरी सहयोग गर्नसक्छ ? भन्ने विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।

उनीहरुले नेपालमा पनि तीब्र रुपमा कोरोना संक्रमितहरु बढिरहेका अवस्थामा न्यूनिकरण तथा रोकथमका लागि अन्य मुलुकहरुले जस्तै अस्पताल र आइसोलेशन वार्डहरु चाँडो निर्माण गरेर सञ्चालनमा ल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे । जसको लागि खाली रहेका होटलहरुलाई पनि आइसोलेशन सेन्टरको रुपमा तत्काल सञ्चालनमा ल्याउन सकिने धारणा राखेका छन् ।

सन् २०१५ को शक्तिशाली भूकम्पमा पनि वस्तुकलाको निकै महत्व देखिएको उल्लेख गर्दै इतिहासबाट सिकेर आवश्यक कदमहरु चाल्नुपर्ने बताएका छन् ।

विश्वका अन्य मुलुकहरुमा कसरी गृहकार्यहरु भइरहेका छन् ? भन्ने विषयमा सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)ले अध्ययन गरिरहेको जानकारी गराएको छ ।