बजेटबारे शीर्ष तहका नेताहरुले दिए यस्ताे मिश्रित प्रतिक्रिया

होमल्याण्ड खबर

२०७७ जेष्ठ १६ गते, शुक्रबार ११:४१ मा प्रकाशित

गणतन्त्र स्थापना पछि  बजेट आकार झण्डै ५ सय प्रतिशतले बढेको छ। पछिल्लो १२ वर्षमा बजेट आकार ठूलो अन्तरले बढे पनि खर्च प्रवृत्तिमा सुधार आउन सकेको छैन । त्यसो त बजेटमा हरेक बर्ष चालुको तुलनामा विकास बजेटको अंश निकै न्यून हुन्छ। सामाजिक सुरक्षामा गरिएको लगानी अझ बढ्दो छ अर्का तर्फ पुँजीगत शीर्षकतर्फ विनियोजित रकमसमेत खर्च नहुने प्रवृत्तिले अर्थतन्त्रमा नकारात्मक असर परेकाे देखिन्छ ।

सरकारले आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि ल्याएको बजेटबारे शीर्ष तहका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारका अर्थमन्त्री डा. युवाराज खतिवडाले बजेट सार्वजनिक गरेपछि बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरुले बजेटबारे प्रतिक्रिया दिएका हुन् । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बजेट निकै सन्तुलित आएको बताए । उनले समाजवादको बाटो उन्मुख बजेट सरकारले ल्याएको प्रतिक्रिया संचारकर्मीसँग दिए ।  साथै, जनतालाई राहत दिने, सिर्जनात्मक ढंगले आएको र यसबाट आफु खुसी रहेको धारणा राखे । उनले निम्न बर्गलाई राहत दिनेगरि बजेट आएको तर्क गरे ।

समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वअर्थमन्त्री डा बाबुराम भट्टराईले मुलुकको अहिलेको समस्यालाई सम्बोधन गर्नुपर्नेमा विगतदेखि नै कार्यान्वयन हुन नसकेका स–साना योजनालाई कनिका छरे झैँ रकम छर्ने कामले समस्या सम्बोधन गर्दैन भने । उनले भने, “कार्यान्वयनका लागि जुन खाले सुधारको खाँका आउनुपथ्र्यो त्यो भएन, अहिलेको समस्या समाधान गर्न विशिष्ट ढङ्गबाट बजेट आउनु पर्दथ्यो, जसले गर्दा पुरानै ढङ्गबाट आयो, क्यान्सरको रोगलाई सामान्य झारफुक गर्ने जस्तो भयो ।”

नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले खर्च जुटाउने र खर्च गर्ने सङ्कल्प र सोच बजेटमा जसरी राखेको छ त्यो सम्भव छैन भने । उनले भने, “दुई÷तीन महिनाभित्रमा कोराना भाइरसबाट देश पूर्णरुपमा मुक्त हुन्छ भन्ने ढङ्गबाट बजेट आएको छ ।”
त्यस्तै पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले बैदेशीक रोजगारबाट फर्कने नेपालीहरुका लागी उल्लेख्य कार्यक्रम नआएको बताए । बजेटले नीजि क्षेत्रलाई पनि उत्साहित गर्न नसक्ने उनको भनाई छ ।
त्यस्तै, जनतासमाजवादी पार्टीका नेता उपेन्द्र यादवले पराम्परागत बजेट आएको आरोप लगाए । उनले कोरोनापछिको अवस्थामा जनशक्ति र सामाग्री अभावलाई पूर्ति गर्न बजेट अप्रयाप्त रहेको जिकिर गरे ।
त्यस्तै, कांग्रेस नेता एवं छाँया अर्थमन्त्री डा मिनेन्द्र रिजालले बजेटपछि सरकार र अर्थमन्त्री पूर्णत असफल देखिएको तर्क गरे । उनले बजेटमा चौडाहा भिजन नभएको धारणा पनि राखे ।