३ मंसिर २०८१, सोमबार
पार्टीभित्रै आलोचित भएपछि प्रधानमन्त्री केपी ओलीले विभिन्न पक्षसँग परामर्श सक्रियता बढाउनुभएको छ । प्रधानमन्त्रीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत परामर्श गर्नुभएको छ । राष्ट्रपति लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । मन्त्रिपरिषद् बैठक दिउँसो १२ बजे बस्दैछ ।
मन्त्रिपरिषद् बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र कोरोना भाइरस संक्रमणको अवस्था लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । मन्त्रिपरिषद्ले संघीय संसदको यस वर्षको वर्षे अधिवेशन अन्त्यको निर्णय गर्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिसँगको भेटवार्तापछि संसदको वर्षे अधिवेशन अन्त्य गर्ने योजना बताउनुभएको हो ।
उता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति गएको आइतबारदेखि शुरु भएको बैठक अझै सकिएको छैन । स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेको लागि बोलाइएको छ । स्थायी समितिका अधिकांश नेताहरु निर्धारित समयमै बालुवाटार पुगिसकेका छन् ।
बैठक शुरु नहुँदा स्थायी समितिका नेताहरु प्रधानमन्त्री निवास वरपर टहलिएका छन् । स्थायी समितिका केही नेता मन्त्री समेत छन् । दिउँसो १२ बजे प्रधानमन्त्री निवासमै मन्त्रिपरिषद् बैठक राखिएपछि स्थायी समिति बैठक बिहीबार पनि अन्योलमा परेको छ ।
प्रधानमन्त्री र शीर्ष नेताहरुले बैठक छलेर अन्यत्र छलफल गर्न थालेपछि स्थायी समिति अन्योलमा परेको हो । प्रधानमन्त्री ओलीले स्थायी समितिमा व्यापक आलोजना भएपछि बैठक छलेर आफू निकटका नेताहरुसँग छुट्टै पराशर्म गर्न थाल्नुभएको छ । स्थायी समितिको मंगलबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमर नेपाल तथा झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम लगायतका १२ नेताले प्रधानमन्त्रीको राजीनामा माग्नु भएको थियो । पार्टीभित्रैका शीर्ष नेताहले बैठकमा औपचारिक रुपमै राजीनामा मागेपछि प्रधानमन्त्री ओली अहिले निकै अप्ठ्याराेमा पर्नुभएको छ ।
नेकपाका अध्यक्ष र संसदीय दलका नेता समेत रहनुभएका ओलीले प्रधानमन्त्रीमा अडिन विभिन्न प्रयास गरिरहनुभएको छ । प्रधानमन्त्रीले पद बचाउनको लागि बुधबार निकट केही मन्त्रीहरुसँग समेत छलफल गर्नुभएको थियो । प्रधानमन्त्री केही मन्त्रीलाई बालुवाटार बोलाएर पद बचाउने प्रयासमा लागेपछि उहाँको राजीनामा माग्दै आउनुभएका अध्यक्ष दाहाल वरिष्ठ नेताद्वय नेपाल तथा खनाल र उपाध्यक्ष गौतमले पनि राजनीतिक सक्रियता बढाउनु भएको छ ।
अध्यक्ष दाहाल वरिष्ठ नेताद्वय नेपाल तथा खनाल र उपाध्यक्ष गौतमसहित स्थायी समितिका ३९ नेताहरुको बुधबार साँझ ललिलपुरमा छुट्टै बैठक भएको छ । झम्सीखेलस्थित अगेनो रेष्टुरेष्टमा भएको भेलाले प्रधानमन्त्रीलाई पार्टीलाइ विधान र विधिअनुसार सञ्चालन गराउने, यदि त्यो सम्भव नभए प्रधानमन्त्रीलाई राजीनामा गराउने निष्कर्षमा पुगेको छ ।
अगेनो भेलापछि अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलबीच छुट्टै भेटवार्ता भएको छ । अध्यक्ष दाहाल अगेनोबाट निवास फर्केपछि महासिचव पौडेल उहाँलाई भेट्न बुधबार राति खुमलटार पुग्नु भएको थियो । त्यस्तै अध्यक्ष दाहाललाई उपप्रधानमन्त्री तथा रक्षमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सललाहकार विष्णु रिमालले पनि बिहीबार बिहान छालफल गर्नुभएको छ । पार्टीमा पछिल्ले समय उत्पन्न विवाद र असज स्थितिबारे छलफल गर्न उहाँहरु बिहीबार बिहानै दाहाल निवास खुमलटार पुग्नु भएको हो ।