होमल्याण्ड खबर
२०७७ असार १९ गते, शुक्रबार १३:२४ मा प्रकाशित
एजेन्सी : रियल मड्रिडका कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा कठिज जित निकालेको छ । अंक तालिकाको शीर्षस्थानमा रहेको रियल मड्रिडले गेटाफेलाई १-० गोल ले पराजित गरेको छ ।
आफ्नो घरेलु मैदान भएको खेलमा रियल मड्रिडले गेटाफेलाई पराजित गर्न निकै मिहिनेत गर्नुपर्यो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपछि गेटाफेले दोस्रो हाफमा पनि रक्षात्मक रणनीति अपनाएको थियो । खेल बराबरीतर्फ उन्मुख गर्दा गेटाफेको डिफेन्सबाट गल्ति हुँदा रियलले अग्रता लिने अवसर प्राप्त गर्यो ।
जारी खेलको ७८ औं मिनेटमा म्याथिअस ओलिभिएराले ड्यानी कार्भाजललाई लडाएपछि रेफ्रीले रियलका लागि पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीको अवसरलाई रामोसले सदुपयोग गर्दै रियललाई अग्रता दिलाए । जारी सिजन रामोसले आफ्नो गोल संख्या ९ गोल पुर्याए ।
यस जितसँगै रियल म्याड्रिडले अंक तालिकामा दोस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकको स्पष्ट अग्रता कायम गरेको छ । रियलको ३३ खेल बाट ७४ अंक रहेको छ । दोस्रो स्थानको बार्सिलोनाले समान खेल बाट ७० अंक सहित लिग तालिकाको दोस्रो स्थानमा रहेको छ ।