१० मंसिर २०८१, सोमबार
एजेन्सी : अर्जेन्टिनी फरवार्ड तथा स्पेनीस क्लब बार्सिलोनाकन कप्तान लिओनेल मेस्सीले क्लब छाड्ने निर्णय गरेका छन् । पछिल्लो समय बार्सिलोनाको मैदान भित्रको प्रदर्शन र मैदान बाहिरको अन्तरिक कलहको सबै दोष आफूमाथि लाग्न थालेपछि उनले उक्त निर्णय गरेका हुन ।
स्पेनको प्रतिष्ठित रेडियो स्टेसन कादेनासेरका अनुसार मेस्सीले क्लबसँग जारी रहेको सम्झौता नविकरणबारे छलफल रोक्न आफ्नो पितालाई आग्रह गरेका छन् । अध्यक्ष बार्टोमेउ र मेस्सीका पिताबीच पछिल्लो केहि सातायता सम्झौता नविकरणलाई लिएर छलफल चलिरहेको थियो । मेस्सीको सम्झौता अनुसार उनी सन् २०२१ को जुन महिनासम्म क्लबमा रहने उल्लेख गरिएको छ । सम्झौताको विशेष प्रावधान अनुसार मेस्सीले गत जुन १० अघि क्लब छाड्न चाहेको अवस्थामा यसै क्लब छाड्न पाउने व्यवस्था थियो । तर त्यसबेला मेस्सीले क्लबमा नै बस्ने निर्णय लिएका थिए ।
पछिल्लो समय बार्सिलोनाले मैदानभित्र लगातार खराब नतिजा हासिल गर्दा मेस्सी उक्त नतिजाको केन्द्रविन्दु बन्दै आएका छन् । प्रदर्शनका आधारमा मेस्सीले औसत प्रदर्शन गरेपनि अन्य खेलाडीले सोहि अनुसार खेल्न नसक्दा नतिजा आउन सकेको छैन । तर क्लबमा भने सबैले मेस्सीमाथि नै खराब नतिजाको दोषारोपण गरेपछि उनले कडा कदम चाल्न लागेका हुन् ।
मैदानभित्र नतिजाको समस्यासँगै क्लबका खेलाडी र प्रशिक्षकबीच पनि पछिल्लो समय सम्बन्ध सुमधुर रहन सकेको छैन । खेलाडी छनोट र परिवर्तन तथा प्रशिक्षण पद्दतिलाई लिएर खेलाडीहरु असन्तुष्ट रहेको खबर सार्वजनिक भएको छ । खेलाडीहरुले सार्वजनिक अन्तर्वार्तामै पनि प्रशिक्षकबारे असन्तुष्टि पोख्न थालेका छन् ।
लिग उपाधि यात्रा टाढा हुँदै गएको र अन्य घरेलु प्रतियोगितामा बार्सिलोना नरहेकाले अब उपाधिविहिन हुनबाट जोगिन च्याम्पियन्स लिग मात्र बाकी रहेको छ । बार्सिलोनाले पहिलो लेगमा नेपोलीसँग १-१ को बराबरी खेलेको बार्सिलोनासँग दोस्रो लेगमा जितबाहेकको विकल्प रहने छैन ।