१० मंसिर २०८१, सोमबार
अन्ततः क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसका लागि फ्रि–किक मार्फत गोल गरेका छन् । उनले ४३ औँ प्रयासमा युभेन्टसका लागि फ्रि–किक मार्फत गोल गरेका हुन् ।
इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा तोरिनोलाई ४–१ पराजित गर्ने क्रममा ६१ औँ मिनेटमा रोनाल्डोले घरेलु टिम युभेन्टसका लागि फ्रि–किक मार्फत गोल गरेका हुन् । त्यसअघि युभेन्टसका लागि तेस्रो मिनेटमा पाउलो डिबाला तथा २९ औँ मिनेटमा ख्वान ग्वाद्रादोले गोल गरिसकेका थिए ।
तोरिनोका लागि पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा पाएको पेनाल्टीमा बेलोतीले गोल गरे । तोरिनोका डिजिडिजीले ८७ औँ मिनेटमा आत्मघाती गोल गरेपछि युभेन्टस ४–१ ले विजयी भयो ।
जितपछि शीर्ष स्थानको युभेन्टसको ३० खेलबाट ७५ अंक भएको छ । उ दोस्रो स्थानको लाजिओ भन्दा सात अंकले अघि रहेको छ ।
युभेन्टसको शनिबार रातिको खेलमा ४२ वर्षका गोरक्षक जियानलुइजी बुफोनका लागि पनि कीर्तिमानी रह्यो । उनले सिरी ए मा कीर्तिमानी ६४८ औँ मिनेटमा सहभागिता जनाए ।
रोनाल्डोले क्लबका लागि अहिलेसम्म फ्रि–किक मार्फत ४६ गोल गरेका छन् । त्यसमा ३२ गोल रियल मड्रिड तथा १३ गोल म्यानचेस्टर युनाइटेडका लागि रहेको छ ।
रोनाल्डोले यो सिजन सिरी ए फुटबलमा २५ गोल गरिसकेका छन् । उनी सिरी ए को एकै सिजनमा २५ गोल गर्ने सन् १९६०–६१ को सिजनपछिका पहिलो खेलाडी बनेका छन् । त्यो बेला ओमार सिभोरीले २५ गोल गरेका थिए ।