३ मंसिर २०८१, सोमबार
काठमाडौं : कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरिएपछि विरोध गर्दै आएकी सरिता गिरीको सांसद पद गुमेको छ। समाजवादी पार्टीबाट समानुपातिक सांसद रहेकी गिरीलाई उनकै पार्टीले पदबाट हटाउने निर्णय गर्दै संघीय संसदलाई पत्राचार गरेको थियो।
नेपालले जारी गरेको नयाँ नक्साको पक्षमा मतदान गर्न समाजवादी पार्टीको संसदीय दलले जारी गरेको थियो। तर उनले पार्टीले भनेको नमानेर मतदानका दिन बीचमै संसद छाडेर हिंडेकी थिइन्। यसअघि उनले नेपालको नयाँ नक्सा समेट्न संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावमा पनि लिखित विमति राखेकी थिइन्।
समाजवादी पार्टीका प्रमुख सचेतकबाट गिरीलाई पदमुक्त गर्न पत्राचार गरेअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेको देखिन आएकाले संविधानको धारा ८९ बमोजिम गिरीको प्रतिनिधि सभा सदस्य पद रिक्त हुन आएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जनाएका छन्।