भारतीय हस्तक्षेपका कारण नेपालमा प्राकृतिक प्रकोपले वितण्डा मच्चायो: गृहमन्त्री बादल

होमल्याण्ड खबर

२०७७ असार २९ गते, सोमबार १७:२९ मा प्रकाशित

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण नेपालमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले वितण्डा मच्चाएको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

‘भारतले आफू अनुकुल हुने गरी सीमामा बाँध बनाएको छ । जसले गर्दा नेपालमा क्षति भइरहेको छ’, गृहमन्त्री थापाले भने, ‘बाह्य हस्तक्षेपका करण पनि नेपालमा प्रकोप बढेको छ ।’ उनले सीमामा आफ्नो मात्रै हितमा बाँध बनाउनु एक किसिमको राजनीतिक हस्तक्षेप नै रहेको बताए ।
नेपाल सरकारले पटक पटक सीमामा बनाइएका बाँधबारे कुरा उठाए पनि भारतले अटेर गरेको गृहमन्त्री थापाको आरोप थियो ।
उनले भने, ‘सरकारले पहल नगरेको होइन । उनीहरुले आफ्नो हितमा काम गर्दा हामीलाई समस्या भयो ।’

उनले सीमाको बाँधबारे समस्या समाधान गर्न पटक– पटक प्राविधिक कार्यदल गठन भए पनि त्यसको सुझाव लागु नभएको बताए ।
‘बाँधको समस्याको कुरा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला पनि उठेका छन् । समस्या समाधान गर्ने विषयमा प्राविधिक कार्यदल गठन भए पनि कार्यान्नयन भएको छैन’, उनले भने ।

यस्तै गृहमन्त्री थापाले नेपालमा प्राकृतिक कारणले नभई मानवीय कारणले प्राकृतिक विपत्ति निम्तिएको बताए ।
‘अवैज्ञानिक विकास नै विपत्तिको मुख्य कारण हो’, गृहमन्त्रीले भने, ‘राज्यले कानुन पनि बनाएको छ तर प्रभावकारी कार्यान्नयन भएको छैन ।’
उनले हाम्रा प्रयासहरुले प्रकोप कम गर्न सकिने तर विपत्तिको दोष प्रकृतिलाई दिन नमिल्ने बताए । कतिपय अवस्थापमा अज्ञानताका कारणले पनि क्षति बढेको उनले बताए ।

‘बाढीमा दाउरा लिन जाँदा मान्छेको मृत्यु हुन्छ भने प्राकृतिक कारणले कसरी भन्न सकिन्छरु यो एक प्रकारको अज्ञानता पनि हो’, बादलले भने ।
उनले सिन्धुपाल्चोकमा अव्यवस्थित बस्तीका कारण ठूलो क्षति भएको बताउँदै बस्तीहरुलाई व्यवस्थित पार्नेुपर्ने आवश्यकता औँल्याए ।
विगतको वर्षको तुलनामा यस वर्ष बाढी पहिरो कम आउने आँकलन सरकारले गरे पनि प्रिमनसुनमै धेरै पानी परेपछि धनजनको क्षति धेरै भएको उनले बताए ।

सरकारले प्रकोप प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काममा सकेसम्म ध्यान दिएको गृहमन्त्री थापाको भनाइ थियो ।