अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सर्वत्र आलोचना

होमल्याण्ड खबर

२०७७ असार ३० गते, मंगलवार ११:३० मा प्रकाशित

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको देशभित्रैबाट चर्को आलोचना भएको छ ।

ओलीले सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीको सर्बत्र आलोचना भएको हो ।

भारतीय सत्तारूढ दल भाजपाले आस्थामाथि खेलबाड नगर्न ओलीलाई चेतावनी दिएको छ भने नेपालभित्रै पनि यसको सर्वत्र आलोचना भएको हो ।

ओली नेतृत्वकै नेकपासहितका राजनीतिक दलका नेता, कूटनीतिक मामिलाका जानकार र पत्रकारहरुले ओलीको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई ‘आधी–कवि’को संज्ञा दिँदै ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं !सीधै वैकुण्ठधामको यात्रा गरौं ! भनेर व्यंग्य गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले ब्यङ्ग्य गर्दै ट्वीट गरेका छन्, ‘आधी–कवि ओलीकृत कलियुगीन नयाँ रामायण श्रवण गरौं १ सिधै वैकुण्ठधामको यात्रा गरौं !’

उनले ट्वीटरमा लेखेका छन्– संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’ समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !

राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले उटपट्याङ कुरो गरेको टिप्पणी गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्‌, ‘​प्रमको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन।’

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले धर्म भावनात्मक विषय भएकाले यसका सम्बन्धमा बेतुकका अभिव्यक्ति दिँदा लज्जित बनाउने तर्क राखेका छन् ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाललेसमेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको आलोचना गरेका छन् । अप्रमाणित कुरा गरेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हुने बताउँदै रिजालले नेपाली भूमि फिर्ता ल्याउने बेलामा उत्तेजित अभिव्यक्ति दिनु रहस्यमय भएको बताएका छन् ।

पत्रकार अमित ढकालले ओलीको अभिव्यक्तिको सन्दर्भमा व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘श्रीलंका टापू कोशीमा छँदैछ । छेवैमा हनुमान नगर पनि छ, वानर सेनाले पुल हाल्दा बसालेको !’