ओलीको अभिव्यक्तिले देशलाई दिर्घकालिन असर पर्छ : वरिष्ठ नेता पौडेल

होमल्याण्ड खबर

२०७७ असार ३० गते, मंगलवार १३:४५ मा प्रकाशित

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तहबाट देखाउनुपर्ने कूटनीतिक कौशलता देखाउन नसक्दा छिमेकी मुलुकसँगको सम्बन्ध विग्रिएको भएको बताएका छन् ।

उनले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा भएको व्यक्तिबाट कसैलाई काखा र कसैलाई पाखा राख्ने व्यवहार र अभिव्यक्तिले नेपाल कुटनीतिक मामिलामा कम्जोर भएको तर्क गरे ।

‘अयोध्या भारतको नभई नेपालको हो’ भनेर प्रधानमन्त्री ओलीलेदिएको अभिव्यक्तिप्रति लक्षितगर्दै उनले भने,‘प्रधानमन्त्रीका धेरै अभिव्यक्तिहरु विवादित भइरहेका छन् । यसले कतिपय अवस्थामा कुटनीतिक हद पनि पार गरेको छ । हाम्रो संस्कृतिको खोजि गर्न आवश्यक छ । हाम्रा प्राचिन महत्वका विषयमा वार्ता गर्नुपर्छ । प्रधानमन्त्रीले सोचेर बोल्नुपर्छ । उहाँमा कूटनीतिक कौशलता कम्जोर देखिएको छ । प्रधानमन्त्रीले आफ्नो देशको तटस्थता बचाएर राख्नुपर्छ ।’

दुइतिहाई बहुमतका साथ सरकारको नेतृत्व गरिरहेको पार्टीको प्रधानमन्त्रीले प्रमाण विहिन कुरा गर्दा त्यसले देशलाई दिर्घकालिन असर पार्ने उनको भनाई छ । पौडेलले एउटा छिमेकीलाई काखि च्याप्ने र अर्को छिमेकीलाई नानाथरी भन्ने ओलीको रणनीति गलत भएको दावी गर्दै सीमा सडकदेखि लिम्पियाधुरासम्मको नक्साको विषयमा भारतसंँगको वार्ता अगाडी बढाउनुपर्ने र कागजमा कोरेर मात्र नहुनेमा जोड दिए।

एक रेडियो अन्तरवर्तामा बोल्दै उनले प्रधानमन्त्रीले ठोस काम गर्नुपर्नेमा हल्ला गर्ने काम मात्रै भएको टिप्पणी गरे । बरिष्ठ नेता पौडेलले पार्टीको आन्तरिक विवादमा चीनलाई प्रवेश गराउनु गलत भएको भन्दै यस्ता महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको भनाई राखे ।