३ मंसिर २०८१, सोमबार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवावटारमा त्रिपक्षीय छलफल शुरु भएको छ ।
यसअघि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल हुँदै आएकोमा बिहीबार वरिष्ठ नेता माधव कुमार नेपाल पनि छलफलमा सहभागी भएका हुन् ।
बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको छलफल शुरु भएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।
पछिल्लो समय स्थायी कमिटीको बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने आवाज उठेपछि सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किएको छ ।
पार्टी विभाजनसम्मको अवस्थामा पुगेको विवाद समाधानका लागि दुई अध्यक्ष ओली र प्रचण्डबीच छलफल हुँदै आएको छ । तर, दुई अध्यक्षबीचको छलफलले कुनै निकास दिन नसकेपछि बिहीबारको बैठकमा वरिष्ठ नेता नेपाललाई पनि सहभागी गराइएको हो ।
पछिल्लो समय देशमा आएको बाढी पहिरो र कोरोना भाइरसको संक्रमणमा केन्द्रित हुने भन्दै नेकपाको स्थायी कमिटी बैठक साउन २ गते (भोलि) सम्मका लागि स्थगित गरिएको छ ।
भोलि (शुक्रबार) बस्ने स्थायी कमिटी बैठक अगाडि नै निकास निकाल्ने गरी ३ नेताहरुबीचको छलफल बालुवाटारमा शुरु भएको हो ।