३ मंसिर २०८१, सोमबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताउनुभएको छ ।
कोरोना महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन बुधबार आएको यातायात व्यवसायी र मजदुर संठनका नेताको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामथ्र्यअनुरुप समाधानमा अग्रसर रहने बताउनुभयो ।
‘कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ’, उहाँले भन्नुभयो, “सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिएहुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो । सार्वजनिक यातायात सञ्चालन गर्न केकस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्नेछ ।’
अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर संगठनका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग आफ्ना समस्या प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव वसन्त भण्डारी तथा संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर संघका रामचन्द्र कार्की र नेपाल यातायात मजदुर संघका धर्मराज भण्डारी सहभागी हुनुुहुन्थ्यो ।