३ मंसिर २०८१, सोमबार
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शीर्ष नेताहरु स्थायी समिति बैठक अब भने नरोक्न सहमत भएका छन् । अध्यक्ष केपी ओली तथा पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलपछि स्थायी समिति बैठक निर्धारित समयमै गर्ने सहमति भएको छ ।
अध्यक्ष ओली, दाहाल र नेपालबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीमा उत्पन्न विवाद समाधान गर्नेबारे गहन छलफल भएको थियो । छलफलले स्थायी समिति बैठक नरोक्ने निष्कर्ष निकालेकाे वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कोरोना भाइरस संक्रमणको अवस्था र सरकारको कार्यशैली लगायतको विषयमा छलफल गर्नका लागि असार १० गतेदेखि शुरु भएको स्थायी समिति बैठक केही दिनको छलफलपछि अन्योलमा परेको छ । असार १७ गते बसेको तेस्रो दिनको बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय नेपाल तथा खनाल र उपाध्यक्ष वामदेव गौतम लगायतका १२ नेताले प्रधानमन्त्री ओलीको भारतसम्बन्धी अभिव्यक्तिलाई दिएर राजीनामा मागेपछि नेतृत्वमा विवाद भएको हो । शीर्ष नेतृत्वबीच विवाद भएपछि स्थायी समिति बैठक सर्दै आएको छ । अध्यक्षद्वय ओली र दाहालबीच आपसी कटाक्ष अन्त्यसँगै असार २६ गते बोलाइएको स्थायी समिति बैठक फेरि बाढी पहिरोका कारण देखाएर साउन २ गतेका लागि सारिएको थियो ।
अहिलेकै अवस्थामा साउन २ गते पनि स्थायी समिति बैठक बस्ने अवस्था देखिएको छैन । बैठक फेरि सर्ने सम्भावना भएपछि अध्यक्ष दाहालले यसबारे छलफल गर्न वरिष्ठ नेताद्वय नेपाल तथा खनाल र उपाध्यक्ष गौतम , पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा बादललाई बिहीबार बिहान आफ्नो निवास खुमलटार बोलाउनु भएको थियो ।
खुमलटारपछि अध्यक्षद्वय ओली तथा दाहाल र वरिष्ठ नेता नेपालबीच छलफल भएको हो । यसअघि अध्यक्षद्वय ओली र दाहालका बीच बुधबार पनि छलफल भएको थियो । अध्यक्षद्वय ओली र दाहालबीचकाे बुधबारकाे छलफल बिहीबार वरिष्ठ नेता नेपालसहित बस्ने गरी टुंगिएको थियो ।