३ मंसिर २०८१, सोमबार
काठमाडौं, प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संकटमा परेका छन् ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडान लिँदै आएका प्रचण्डले महाधिवेशन गर्ने प्रस्तावप्रति नरम भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल सशंकित बनेका छन् ।
प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषयबाट शुरु भएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव सकारात्मक भएको बताइएको थियो ।
तर, आइतबार प्रचण्डले आगामी मंसिरमा अध्यक्ष केपीशर्मा ओलीले महाधिवेशनको प्रस्ताव गरे पनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको बताएका छन् । प्रचण्डले ओली र आफ्नो बीचमा कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा बताएका हुन् ।
प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने– ‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन, यसमा मेरो सहमति छैन । यो कार्यान्वयन पनि सम्भव छैन ।’ तर शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने समझदारी भएको बताइएको छ । ओली प्रचण्डबीच भएको समझदारीको वरिष्ठ नेता माधवकुमार नेपालले चर्को आलोचना गरेका थिए।
पछिल्लो समयमा प्रचण्डलाई साथ दिँदै आएका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रचण्डले ओलीसँग कुनै समीकरण नबनेको कुरा स्पष्टीकरण दिएका छन् । ओलीको प्रस्तावमा प्रचण्डको पनि सहमति रहेको र दुवै जनाको सहमतिमा नै यो प्रस्ताव आएको भन्दै नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले आपत्ति प्रकट गरेपछि प्रचण्डले निवासमै बोलाएर स्पष्टीकरण दिएका हुन् । खुमलटारमा भएको भेलाले अब स्थायी कमिटीको बैठक कुनै पनि बहानामा रोक्न नहुने निष्कर्ष निकालेको छ ।
त्यसै गरी आइतबारका लागि तय भएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक स्थगित भएको जानकारी दिएको छ ।नेपाल समाचारपत्रबाट