पत्निकाे हत्या गर्नेलाई उन्मुक्ति , निर्वाचित सांसदलाई कहिलेसम्म थुनिरहने ? : सांसद ढकाल

होमल्याण्ड खबर

२०७७ श्रावण ९ गते, शुक्रबार १६:५३ मा प्रकाशित

काठमाडौं : जनता समाजवादी पार्टीकी युवा नेतृ प्रज्ञा ढकालले पत्निकाे हत्या गर्नेलाई उन्मुक्ति दिँदा जनताबाट निर्वाचित सांसदलाई कहिलेसम्म थुनिरहने भन्दै प्रश्न गरेकी छन् । पत्नीकाे हत्या गरेका सशस्त्र प्रहरीका पूर्व डिअाइजी रञ्जन काेइरालाकाे सजाय छुट भएर रिहा भएकाेतर्फ लक्षित गर्दै उनले यस्ताे प्रश्न गरेकी हुन् । निर्वाचित सांसद रेशम चाैधरी थुनामा रहेकाे भन्दै सांसद समेत रहेकी नेतृ ढकालले जनताबाट निर्वाचित सांसद चाैधरीलाई कहिलेसम्म थुनामा राख्ने भन्दै प्रश्न पनि गरेकी छन् ।
उनले अाफ्नाे फेसबुकमा यस्ताे लेखेकी छन् –
न्यायका लागि मानिसकाे अन्तिम भराेसा न्यायालय हाे । जसरी विरामीमा अस्पताल पुग्दा बाँच्छु भन्ने विश्वास पलाउँछ । अन्यायमा पर्नेले न्यायालय पुग्न पाए न्याय पाउँथेँ भन्ने विश्वास राख्छ ।
अझ पिडितकाे परिवारले त अाफुलाई परेकाे अपूरणीय क्षति पनि पीडकले पाउने सजायबाट मन बुझाउँछ । एकातिर छाेरी गुमाउँदाकाे पीडा, अर्काेतिर पिडक हात हल्लाउँदै शानका साथ कारागारबाट निस्किएकाे दृश्य । कसरी मन बुझाउला पीडित परिवारले ? न्यायकाे अनुभूति त झन् कसरी हाेला ? के हामीले स्थापित गर्न खाेजेकाे न्याय प्रणाली यही हाे ? पिडितमाथि थप पीडा, पिडकलाई उन्मुक्तिले हाम्राे न्याय प्रणाालीलाई कठघरामा उभ्याएकाे छ । पिडितले न्याय पाउनैपर्छ, पिडकले कुनै हालमा उन्मुक्ति पाउनुहुँदैन ।
अभिभावक जेलमा हुँदा बालबच्चाकाे बेहाल हुनुहुँदैन । पूर्व डिअाइजीकाे जस्तै जनताबाट निर्वाचित सांसद रेशम चाैधरीकाे पनि घरमा बालबच्चा छन् । श्रीमान्, रञ्जनकाे बालबालिका देख्दा `चित्त´मा लाग्ने हजुरलाई रेशम माननीयकाे बालबालिका देख्दा `चित्त´मा लाग्ला कि नलाग्ला !! पत्निकाे हत्या गर्नेलाई उन्मुक्ति दिँदा जनताबाट निर्वाचित सांसदलाई कहिलेसम्म थुनिरहने ??