३ मंसिर २०८१, सोमबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनलाई प्रभावित पार्ने उदेश्यले विभाग गठन र मनोनयन गरेको आरोप लगाएको छ । आज बालाजुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा बसेको पौडेले समूहका शीर्ष नेताहरुको बैठकमा यसलाई कसरी रोक्ने भन्नेबारे छलफल भएको एक नेताले जानकारी दिए ।
पार्टी सभापति देउवालाई भेटेरै कुराकानी गर्ने र त्यसपछि पनि नसच्चिए चाल्ने सम्भावित कदमबारे छलफल भएको बुझिएको छ । २०७७ फागुन ७ देखि १० मा पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा विभागमा मनोनयन तीब्र बनाएका छन् । त्यसअघि गत पुस ११ गते पौडेल र कृष्ण सिटौला समूहको बहिस्कारका बाबजुद बहुमतले विधान संशोधन गर्दै विभागहरु २८ बाट ४७ बनाउने निर्णय गरेको थियो ।
महाधिवेशनको कार्यतालिका, नेविसंघबारे सहमति जुटे पनि विभागहरु थप्ने प्रस्तावमा पौडेल समूहको विरोधकै बावजुत देउवाले ४७ वटै विभागमा पदाधिकारी र सदस्य मनोनयन तीब्र बनाएका छन् । वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशांक कोइाला र कोषाध्यक्ष सीतादेवी यादवले पत्र लेखेर असहमति जनाए पनि देउवाले मनोनयन रोकेका छैनन् ।