अनशनरत युवाहरुको पक्षमा कांग्रेस प्रवक्ता शर्माको ऐक्यबद्धता

होमल्याण्ड खबर

२०७७ श्रावण १२ गते, सोमबार १४:४४ मा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत युवाहरुको पक्षमा ऐक्यबद्धता जनाएका छन्। कोरोना संक्रमण तथा नियन्त्रणमा सरकारी प्रभावकारिताको माग गर्दै १० दिनदेखि वसन्तपुरमा अनशनरत युवाका मागप्रति समर्थन जनाउन शर्मा अनशनस्थल पुगेका थिए।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि पर्याप्त समय पाए पनि प्रभावकारी नदेखिएको प्रवक्ता शर्माले बताए। अनसनरत युवाहरुलाई भेटेपछि प्रतिक्रिया जनाउने क्रममा शर्माले भने, ‘अरुले नपाएको समय हामीले पाएका थियौं। पूर्व तयारीका लागि प्रतिपक्ष कांग्रेसले उठाइरहेको थियो।’सरकारले प्रतिपक्ष दल र संसदको आवाज नसुनेको उनले बताए। उनले भने, ‘घरमा बसेको युवा चुप लाएर त बस्दैनन्। अनशनरत युवाहरुको माग जायज छ।’

पार्टी प्रचार विभागको तर्फबाट अनशनरत युवाहरुलाई भेट्न पुगेका शर्माले सरकारले गरेको सम्झौता लागु गर्न आग्रह गरेका छन्। सरकारले असार २२ मा गरेको सम्झौता कार्यान्वयन नभएपछि युवाहरु दोस्राेपटक अनशनमा बसिरहेका छन्।