३ मंसिर २०८१, सोमबार
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी समिति बैठक फेरि स्थगित भएको छ । पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीमा पछिल्लो समय देखिएको नेतृत्वबीचको विवाद अन्त्य गर्न परामर्शको लागि बैठक स्थगित गरिएको जानकारी दिनुभएको छ ।
मुलुकमा कोरोना भाइरस संक्रमणको अवस्था, एमसीसी, सरकारको कार्य समीक्षा लगायतका विषयमामा छलफल गर्न एक महिना अघि बोलाइएको स्थायी समिति बैठक केही दिनको छलफलपछि निष्कर्षविहीन र अन्योलपूर्ण अवस्थामा गुज्रिरहेको छ ।
असार १० गतेदेखि शुरु भएको स्थायी समिति बैठक एजेष्डा बाहिर गएपछि अन्योलपूर्ण बनेको हो । बैठक दुई दिन पूर्व निर्धारित एजेण्डा अनुसार सौहार्दपूर्ण रुपमा चल्यो । तर असार १७ गतेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका १२ नेताले भारत सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि अन्योलमा परेको हो । बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि अध्यक्षद्वय ओली र दाहालबीच मनमुटाव देखिएको छ ।
अध्यक्षद्वयबीच मनमुटाव भएपछि पार्टीमा त्यसको गम्भीर असर परेको छ । स्थायी समिति बैठक त्यसको मारमा परेको छ ।