अध्यक्षद्वय ओली र दाहालबीच विवाद बढिरहेको बेला उपाध्यक्ष गौतमले अघि सारे ६ बुँदे प्रस्ताव

होमल्याण्ड खबर

२०७७ श्रावण १३ गते, मंगलवार १३:१२ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढिरहेका बेला नेकपाका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।

उनले अघि सारेको प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने, दाहाल सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीको दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने प्रस्ताव छ ।

उपाध्यक्ष गौतमले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने, अबदेखि पार्टीका बैठक पार्टी कार्यालयमा आयोजना गर्ने लगायतका प्रस्ताव गरेका छन् ।