पिएसजीलाई नवौं पटक फ्रेन्च लिग कपको उपाधि

होमल्याण्ड खबर

२०७७ श्रावण १७ गते, शनिबार ०९:२६ मा प्रकाशित

एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नवौं पटक फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा पीएसजीले लियोनमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै उपाधि जितेको हो ।
पीएसजीको घरेलु मैदानमा भएको खेलको निर्धारित समय र दुई पटक थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा, पीएसजीले ६–५ को जित निकाल्दै सिजनको तेस्रो उपाधि जितेको हो ।
पहिलो हाफमा दुवै टोली गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डी मारिया गोल गर्न चुकेका थिए । त्यसपछि खेलको दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो पटक थपिएको अतिरिक्त समय पनि गोलविहीन बन्यो । दोस्रो पटक थपिएको अतिरिक्त समयमा पाहुना टोली लियोन १० खेलाडीमा सीमित बन्यो ।
खेलको ११९ औं मिनेटमा लियोनका राफेलले रातो कार्ड पाएका थिए । एन्जल डी मारियामाथिको खराब ट्याकलका कारण उनले कार्ड पाएका थिए । दुवै अतिरिक्त समयमा गोल हुन नसक्दा खेल ट्राइबेकरमा धकेलियो । जसमा, पीएसजीका एन्जल डी मारिया, मार्को भेराट्टी, लेयन्द्रो पेरेडेस, एन्डर हेरेर्रा, नेयमार र पाब्लो सराबियाले गोल गरे । लियोनका जोचिम एन्डरसन, कार्ल टोको एकाम्बी, म्याक्सेन्स काक्युरेट, थियागो मेन्डेस र हौसम अवरले गोल गर्दा ब्रेट्रान्ड ट्राओरेको पेनाल्टी मिस भयो ।
यससँगै पीएसजीले सिजनको तेस्रो उपाधि जितेको छ । यसअघि उसले फ्रेन्च कप र लिग वानको उपाधि जितिसकेको छ ।