होमल्याण्ड खबर
२०७७ श्रावण २० गते, मंगलवार ०९:१८ मा प्रकाशित
एजेन्सी : स्पेनिस महाराथी क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक क्वीक सेटिनको स्थानमा मौरिसियो पोचेटिनो ल्याउने तयारी गरेको छ । बेलायती मिडिया ‘डेली मेल’का अनुसार बार्सिलोनाले सेटिनको स्थानमा टोटनह्यामका पूर्वप्रशिक्षक पोचेटिनोलाई उसले पहिलो प्राथमिकतामा राखेको छ ।
उक्त खबरका अनुसार क्याटनाल क्लब बार्सिलोनाले पोचेटिनोलाई यसै समरमा सेटिनको स्थानमा ल्याउन चाहेको हो । ला लिगा जित्न असफल भएपछि बार्सिलोना प्रशिक्षक सेटिनसँग असन्तुष्ट रहेको बताइन्छ । कोरोना महामारीपछि सुचारु ला लिगामा सेटिनको रणनीतिले काम नगरेपछि बार्सिलोनाले रियल मड्रिडलाई घरेलु लिगको उपाधि सुम्पिएको थियो ।
च्याम्पियन्स लिगमा समेत असफल भएमा बार्सिलोनाले सेटिनलाई बर्खास्त गर्दै अर्का प्रशिक्षकलाई ल्याउने संकेतसमेत गरिसकेको छ । बार्सिलोनाले यसै जनवरीमा प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई बर्खास्त गर्दै सेटिनलाई क्याप नोउ ल्याएको थियो । तर, उनी आएकै सिजन बार्सिलोना उपाधिविहीन बन्नसक्ने देखिएकाे छ । बार्सिलोनाका लागि च्याम्पियन्स लिगकाे झिनाे आशा मात्र बाँकी छ ।
अब सेटिनको नेतृत्त्वमा नै बार्सिलोनाले च्याम्पियन्स लिग खेल्दैछ । तर, च्याम्पियन्स लिगमा असफल भएमा अर्जेन्टिनी प्रशिक्षकले बार्सिलोनाको नेतृत्त्व थाल्न सक्ने देखिएको छ ।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र पोचेटिनोबीच सुमधुर सम्बन्ध रहेको बताइन्छ । पोचेटिनोले उनीसँग संक्षिप्त भेट गरेको बताउँदै बार्सिलोनाले प्रस्ताव गरेमा अस्वीकार नगर्ने पनि बताएका छन् ।पोचेटिनोले तीन वर्ष स्पान्योलको, एक वर्ष साउथह्याम्पटनको र पाँच वर्ष टोटनह्यामको नेतृत्त्व गरेका थिए ।