लगानी बोर्डको सीईओ नियुक्तीबारे चर्काचर्की भई नेकपा बैठक आज पनि निष्कर्षविहीन टुङ्गियो

होमल्याण्ड खबर

२०७७ श्रावण २० गते, मंगलवार २१:२९ मा प्रकाशित

काठमाडौं, लगानी बोर्डको सीईओ (प्रमुख कार्यकारी अधिकृत)मा सुशील भट्टलाई नियुक्त गरेको विषयमा बालुवाटारमा चर्काचर्की परेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको सीईओमा भट्टलाई नियुक्त गरेको थियो ।

यसै विषयलाई लिएर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता झलनाथ खनाल खनिनुभएको हो । मंगलबार साँझ ५ बजेदेखि ६ बजेसम्म भएको वार्ता सुरुवातमै तनावपूर्ण बनेको जनाइएको छ ।

भट्टलाई सीईओ बनाएको विषय गम्भीर रुपले उठाउँदा प्रधानमन्त्री ओली मौन बस्नुभएको जानकारी गराइएको छ । साथै, उहाँलाई आगामी दिनमा पार्टीको परामर्शबिना, छलफलबिना, स्वीकृतीबिना यस्तो नियुक्ति नगर्न आग्रह गरिएको बताइएको छ ।

भट्को नियुक्तिको विषयमा अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता खनालले गम्भीर आपत्ति प्रकट गर्दै सच्याउन माग गरेकासमेत जानकारी गराइएको छ । आजको छलफलमा दाहाल र खनालले स्थायी कमिटीको बैठकको मिति तोक्न माग गर्नुभएको थियो ।

आजको बैठकमा पनि रस्साकस्सी चलेको र अन्तिममा छलफल जारी राख्ने सहमतिसँगै बैठक टुंग्याइएको जानकारी गराइएको छ । आजको छलफलमा ओली, प्रचण्ड, खनालका अतिरिक्त सुवास नेम्वाङ पनि छलफलमा सहभागी हुनुभएको थियो ।