ओलीले मदन भण्डारी फाउन्डेसनबाट देशब्यापी गुट चलाए : खनाल

होमल्याण्ड खबर

२०७७ श्रावण २१ गते, बुधबार १६:२७ मा प्रकाशित

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनबाट देशब्यापी गुट चलाएको आरोप लगाएका छन् । बुधबार काठमाडौँमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पार्टीभित्रको अर्को समूहका विरुद्धमा यही गुट परिचालन गरेको बताए ।

ओलीलाई रुपान्तरण गर्न अनेक प्रयास गरिए पनि असफल भएपछि अहिले स्थायी कमिटीमा छलफल भएको खनालको भनाई थियो । प्रधानमन्त्री ओलीले एमालेमा हुँदा पनि गुट नै चलाएको र अहिले पनि गुटबाट बाहिर निस्कन नसकेका कारण विस्फोटको अवस्था सृजना भएको खनालले स्पष्ट पारे । लगानी बोर्डमा सुशील भट्टको नियुक्तिको विषयमा बोल्दै उनले पार्टीभित्र सल्लाह नगरी एकलौटी रुपमा भट्टलाई नियुक्त गरेर ओली आफ्नो उद्देश्य पूरा गराउन खोजेको जिकिर बताए ।