नेकपा सचिवालय बैठकबाट कार्यदल अनुमोदन

होमल्याण्ड खबर

२०७७ भाद्र १ गते, सोमबार १४:११ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)को आन्तरिक विवाद सुल्झाउन बनेको कार्यदलले बैधानिकता पाएको छ । आज बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको हो । बैठकमा शुक्रबार गठन भएको कार्यदललाई सचिवालयबाट औपचारिक रुपमा अनुमोदन र कार्यादेश दिने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पार्टीका तीन शीर्ष नेताहरु झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठले कार्यदलको बैधानिकतामाथि आपत्ति जनाएपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय बैठक बोलाउन बाध्य भएका थिए । पार्टीको विधि र पद्धति मिचेर कार्यदल बनाएको भन्दै आपत्ति नेता त्रयले आपत्ति जनाएका थिए ।

नेकपाभित्र विवाद बढ्दै गएपछि समस्या पहिचान गर्न र समाधान गर्नको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । तर, पार्टी कमिटीमा छलफल नगरी कार्यादल बनेको भन्दै वरिष्ठ नेता खनाल, नेपालल र श्रेष्ठले असन्तुष्टि जनाएका थिए । शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलमा नेताले असन्तुष्टि जनाएपछि दाहालले अर्का अध्यक्षसँग सल्लाह गरेर बैठक बोलाउने बताएका थिए । यसअघि साउनको ३ गते नेकपाको सचिवालयको बैठक बसेको थियो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको सो समितिमा पूर्व माओवादीको तर्फबाट जनार्दन शर्मा र पम्फा भूषाल रहेका छन् भने शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल पूर्व एमालेका तर्फबाट रहेका छन । उनीहरुले शनिवारबाट काम थालेका हुन । पार्टीमा आन्तरिक विवाद उत्पन्न भएपछि असार १० मा शुरु भएको नेकपाको स्थायी कमिटी बैठक समेत असार १८ पछि बस्न सकेको थिएन । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि असार १८ पछि बैठक स्थगित पार्टीभित्र झन समस्या उत्पन्न भएको थियो ।