ओली–दाहालबीचको भेटवार्ता अन्तिम समयमा स्थगित

होमल्याण्ड खबर

२०७७ भाद्र ८ गते, सोमबार १२:४४ मा प्रकाशित

काठमाडौँ ।प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता स्थगित भएको छ ।

नेकपाद्वारा पार्टी भित्रको विवाद समाधान गर्न गठीत कार्यदलले बुझाएको प्रतिवेदनमाथि लागि भेटवार्ता तय भए पनि अन्तिम समयमा स्थगित भएको बालुवाटर स्रोतले जनाएको छ ।

पछिल्लो समय नेकपा भित्र देखिएको आन्तरिक विवाद समाधान गर्नका लागि गत साउन ३० गते कार्यदल गठन गरिएको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल,स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल,भीम रावल, सुरेन्द्र पाण्डे,पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेका थिए ।

कार्यदलले ९ दिन लामो छलफलपछि शनिबार प्रतिवेदन बुझाएको थियो। प्रतिबेदनमा प्रतिनिधिसभाको बाँकी कार्यकाल प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने रअध्यक्ष दाहालले पार्टीका कामकारवाहीलाई संचालन गर्दै पार्टीका बैठक संचालन गर्ने सुझाव  उल्लेख गरिएको छ ।

यस्तै राजनीतिक नियुक्तिलाई सचिवालयमा छलफल गरेर मात्रै सहमतिका आधारमा निर्णय गर्न र प्रदेश सरकारलाई प्रभावकारी बनाउन आवश्यक मात्रमा पुर्नगठन गर्न प्रतिवेदनले सुझाव दिएको छ। एकता महाधिवेशन चैत्र २५ देखि ३० भित्रकै मितिमा गर्नु पर्ने सुझाव दिदै प्रतिवेदनले एकताका बाँकी कामलाई टुंगो लगाई महाधिवेशनमा केन्द्रित हुन पार्टीलाई सुझाव दिएको छ ।

अध्यक्षद्वयको छलफलमा सहमति जुटेपछि नेकपाले सचिवालय बैठक बोलाउने तयारी छ ।