नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने

होमल्याण्ड खबर

२०७७ भाद्र ९ गते, मंगलवार १३:०३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष ओली र  प्रचण्डबीच करिब २ घण्टा लामो छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिए । उनले अध्यक्षद्धयबीचको  छलफलले  भदौ १३ गते ११ बजे सचिवालय बैठक बस्ने निर्णय भएको बताए ।

दुई अध्यक्षबीच आज भएको छलफलमा भदौ ६ गते महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको थियो । अध्यक्षद्वयले यसलाई प्रस्ताव बनाएर सचिवालयमा पेस गर्ने कार्यसूची छ । अब बस्‍ने सचिवालयले स्थायी कमिटी बैठकको मिति तोक्ने छ । स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरूद्ध छ ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पीएसओसहित सुरक्षा गार्डलाई कोरोना सङ्क्रमण देखिएपछि होम क्‍वारेन्टिनमा छन् । १३ गतेको सचिवालय बैठकमा उनी उपस्थित नहुने स्रोतको भनाइ छ ।