युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्रीकाे संकेत

होमल्याण्ड खबर

२०७७ भाद्र १४ गते, आईतवार १५:३२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा युवराज खतिवडालाई नै अर्थमन्त्री बनाउने तिर संकेत गरेका छन् । शनिबार राति ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका हुन् ।

ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उनले राम्रो काम गरिरहेको स्पस्ट पारे । युवराज खतिवडाले भन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्ने भएपनि अहिलेसम्म उनको कार्यसम्पादन सन्तोषजनक भएको ओलीले बताए । तर, मुख्यरुपमा प्रधानमन्त्रीले आफ्नो कामलाई सफल बनाउनका लागि मन्त्रिपरिषद्को हिसावमा, अन्य पक्षहरु पनि केलाएर समग्रता हेरेर निष्कर्ष निकाल्ने बताए ।

फागुन २० गते दोस्रो पटक मन्त्रीको रूपमा शपथ लिएका खतिवडाले सङ्घीय संसदको सदस्य नरहे अब भदौ २० सम्ममात्रै काम गर्न पाउँछन् ।  संविधानको धारा ७८ ले सङ्घीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेमा त्यसको ६ महिनाभित्र सङ्घीय संसदको सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार उनलाई निरन्तरता दिने या नदिने भन्नेमा अन्योलता रहेकै बेला ओलीले यस्तो बताएका हुन् ।

उनलाई मन्त्रीमा निरन्तरता दिन राष्ट्रिय सभाको रिक्त रहेको सदस्यमा मन्त्रिपरिषद्ले सिफारिस गर्नुपर्नेछ । यसबारे सचिवालयको भदौ १८ गतेको बैठकबाट निष्कर्ष निष्किने विश्वास लिइएको छ ।