पहिलो पटक नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी

होमल्याण्ड खबर

२०७७ आश्विन ४ गते, आईतवार ११:४६ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (आइतबार) पहिलो पटक पेरिसडाँडामा जारी छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो ।

यस अगाडि २ असोजमा कोटेश्वरको पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दूरी कायम गरी आसनको व्यवस्था मिलाइएको बताइएको छ ।

आजको बैठकमा पार्टीभित्रको आन्तरिक शक्ति समीकरण मिलाउन, मन्त्रीहरु हेरफेरको विषयमा छलफल हुने जानकारी गराइएको छ । यसका साथै, आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुङ्ग्याउने विषयमा पनि छलफल हुने बताइएको छ ।