मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य शुरू, बैठक भोलि पनि बस्ने

होमल्याण्ड खबर

२०७७ आश्विन ४ गते, आईतवार १६:१६ मा प्रकाशित

काठमाडाैं । पेरिसडाँडामा जारी नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’काे बैठक भाेलिका लागि स्थगित भएकाे छ । बैठक सोमवार १ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यबारे छलफल भएकाे उनले बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनलगायत चार एजेण्डा तय गरेर छलफल शुरू गरेको हाे ।

बैठकमा स्थायी कमिटी बैठकको सुझावअनुसार मन्त्रिपरिषद् पुनर्गठनको छलफल प्रारम्भ भएको प्रवक्ता श्रेष्ठले बताए । विभिन्न मापदण्डबारे छलफल भएको उनकाे भनाइ छ।

श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्को पुनर्गठन गर्ने स्थायी कमिटीको निर्णयअनुसार गर्ने तय भएको छ । पुनर्गठनका सन्दर्भमा सचिवालयले नीतिगत रूपमा सुझाव दिएको छ । त्यसबारेमा व्यक्तिको नाममा प्रवेश गरेका छैनौँ । आवश्यक परे त्यसबारे पनि छलफल गर्छौं ।’

त्यसैगरी बैठकमा संवैधानिक आयोगमा गरिने नियुक्तिका विषयमा छलफल गर्ने, पार्टी एकताको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ।

विविध विषयमा केन्द्रीय कमिटीका काम गर्ने र पूर्णकालीन कार्यकर्तालाई तलब दिने विषयमा पनि छलफल गरिने प्रवक्ता श्रेष्ठले बताए।