नेकपा सचिवालय बैठक स्थगित, ओली प्रचण्डबीच बालुवाटारमा छलफल

होमल्याण्ड खबर

२०७७ आश्विन ५ गते, सोमबार ११:१९ मा प्रकाशित

काठमाडाैं। साेमबार दिउँसाे पेरिसडाँडामा बस्ने भनिएकाे नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक स्थगित भएकाे छ । जनसंगठनहरुको केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो १ बजे बोलाइएको बैठक मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको हो ।

सचिवालयका एक नेताका अनुसार मन्त्रीपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेण्डाहरुको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल हुनेछ । थप आवश्यक गृहकार्यका लागि बैठक स्थगित भएको ति नेताले बताए ।

मन्त्रीपरिषद पुनर्गठन, राजनीतिक नियुक्तिबारे बनाएको सैद्धान्तिक मापदण्डलाई मूर्तरूप दिने, कोभिड– १९ महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयनजस्ता महत्वपूर्ण विषयमा बैठक केन्द्रित हुने जनाइएको छ ।