३ मंसिर २०८१, सोमबार
काठमाडौँ : नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार गरेका विभिन्न राजनीतिक नियुक्तिलाई लिएर पार्टीमा असन्तुष्टि बढेपछि ओलीलाई भेट्न दाहाल बालुवाटर पुगेका हुन् ।
नेकपा स्थायी कमिटी बैठकले राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गरेर मात्रै गर्ने भन्ने निर्णय विपरीत प्रधानमन्त्री ओलीले नियुक्ती गरेपछि बिहीबार नै केही सचिवालय सदस्यहरूले विरोध गर्दै अध्यक्ष दाहाललाई सचिवालय बैठक बोलाउन दबाब दिएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिका र पूर्व मुख्यसचिव लोक दर्शन रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको थियो । यस्तै मुख्य सचिवमा शंकरदास बैरागीलाई सिफारिस गरेको थियो ।
यसअघि मन्त्रिपरिषद पुनर्गठनबारे दुई अध्यक्षबीच लगातार छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन । उनीहरूबीच पछिल्लो पटक मंगलबार भेट भएको थियो ।