ओली र दाहालबीचको छलफल सकियो,शनिबार सचिवालय बैठक बस्ने

होमल्याण्ड खबर

२०७७ आश्विन १६ गते, शुक्रबार १३:०५ मा प्रकाशित

काठमाडौंः  प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच करिब एक घण्टा भएको छलफलमा भोलि (शनिबार) ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

ओलीले बिहीबार गरेका विभिन्न राजनीतिक नियुक्तिलाई लिएर पार्टीमा असन्तुष्टि बढेपछि आज त्यही विषयका कुराकानी भएको बताइएको छ ।

नेकपा स्थायी कमिटी बैठकले राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गरेर मात्रै गर्ने भन्ने निर्णय विपरीत प्रधानमन्त्री ओलीले नियुक्ती गरेपछि बिहीबार नै केही सचिवालय सदस्यहरूले विरोध गर्दै अध्यक्ष दाहाललाई सचिवालय बैठक बोलाउन दबाब दिएका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिका र पूर्व मुख्यसचिव लोक दर्शन रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको थियो  । यस्तै मुख्य सचिवमा शंकरदास बैरागीलाई सिफारिस गरेको थियो ।

यसअघि मन्त्रिपरिषद पुनर्गठनबारे दुई अध्यक्षबीच लगातार छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन । उनीहरूबीच कसलाई निरन्तरता दिने र कसलाई हटाउने भन्ने विषयमा विवाद रहेको छ ।