३ मंसिर २०८१, सोमबार
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको स्वीकार गरेका छन्। विश्वको तुलनामा नेपालमा बलात्कार र महिला हिंसाको अवस्था चिन्ताजनक छैन भन्ने अभिव्यक्ति विवादमा आएपछि उनले आफ्नो अभिव्यक्तिले अलमल निम्त्याएको थापाले प्रष्टिकरण दिए।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सोमबार भएको छलफलमा थापाले अन्य देशहरूको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अबदेखि सजगता अपनाउनुपर्ने बताए। थापाले गत बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा विश्वका २ सय बढी मुलुकको तथ्याङ्क विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको भन्न खोजेको प्रष्टिकरण दिए। उनले नेपालमा प्रतिदिन ६/७ वटा बलात्कारका घटना हुने गरेको पनि बताए। समिति भएको छलफलमा सांसदहरुले अन्य देशको तुलना गरी नेपालको अवस्था चिन्ताजनक छैन भन्न नहुने बताएपछि गृहमन्त्री थापाले आफूले अब सजगता अपनाउने प्रतिवद्धता जनाए।
गृहमन्त्री थापाले नेपालमा कोरोनापछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताए। विगत वर्षहरूको तथ्याङ्क हेर्दा यो वर्ष घटना बढ्न सक्ने उनले बताए। सरकारले बलात्कार, महिला हिंसा र दलित समुदायमाथि हुने हिंसा न्यूनिकरणका लागि शून्य सहनशिलताको नीति अपनाएर अघि बढेको पनि उनको भनाइ छ।
सांसद उदया शर्मा पौडेलले प्रतिदिन ७ जना महिला बलात्कारको शिकार हुने तथ्याङ्क रहेकोमा गृहमन्त्रीले आत्तिनुपर्ने अवस्था छैन भनेर भन्न नहुने बताइन्। सांसद राम लखन चमारले उत्पीडित वर्गले प्रहरी प्रशासनबाट अपेक्षाकृत न्याय पाउन नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए। सांसद इन्दु कडरियाले महिला हिंसाका घटना बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरे। पीडित महिला आफै उजुरी दिन जाँदा प्रहरीले उजुरी नलिने गरेका घटनाहरू पनि बाहिर आएकाले छानबिन गरी कडा कारबाही गर्न उनले आग्रह गरिन्।
गृहमन्त्री थापाले महिला हिंसाका घटना न्यूनिकरणका लागि सरकार गम्भीर जानकारी दिँदै पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए।