डा. केसी र सरकार पक्षबीच आज वार्ता हुदैँ

होमल्याण्ड खबर

२०७७ आश्विन २२ गते, बिहीबार ०९:०९ मा प्रकाशित

काठमाडौंः चिकित्सा शिक्षा सुधारको माग गदै डा.गोविन्द केसी अनसन बसेको आज २५ औँ दिन भएको छ । डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज डा.केसी र सरकार पक्षबीच वार्ता हुने भएको छ। डा.केसीको तर्फबाट बनेको चार सदस्यीय वार्ता टोली र सरकारी तर्फबाट बनेको तीन सदस्यीय वार्ता टोलीबीच आज दिउँसो ४ बजे वार्ता हुने भएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. केसीलाई २४ औँ दिनसम्म पनि वास्ता नगरेको सरकारले बुधबार वार्ता टोली गठन गरेपछि केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बनेको हो। दुवै पक्षका वार्ता टोलीले आज दिउँसो वार्ता गर्ने भएका हुन् ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् ।

सरकारको समिति बनेको केही घन्टापछि  डा. केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बनेको छ । केसीका तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा बनेको वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, पूर्वअध्यक्ष डा अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।

वार्ता टोली नै नबनाउने सरकारी मनसाय र आजदेखि आन्दोलन सुरु गर्ने केसीपक्षबीच वार्ता टोली बनेपछि आजबाट वार्ता हुने भएको छ।