१३ मंसिर २०८१, बिहीबार
काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएको नेपालकै पहिलो नेटवर्क आर्कब्रिज रङरोगनको काम सकिएको छ । पेन्टस् कम्पनीहरु मध्येको उत्कृष्ट फेसन पेन्टस् प्रालिले आफ्नै खर्चमा बिजुलीबजारस्थित दुईवटै आर्क ब्रिज रङ रोगन गरेर चिटिक्क पारेको हो ।
रंगरोगन गरिएको दुई पुलको कुल पेन्टस् एरिया २१ हजार वर्गफिट रहेको छ । यसलाई रंगाउन पेन्ट्स र प्राइमर दुवै पाँच–पाँच सय लिटर लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, रंगरोगन र श्रमिकको ज्याला गरी दुई पुल पेन्ट गर्न करिब १३ लाख रुपैयाँ खर्च भएको छ ।
उपत्यका सडक विस्तार आयोजनाले गत असारमा यस पुलको रंगरोगनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्चसहितको काम सौजन्यका लागि इच्छुक पेन्टस् कम्पनीहरुबाट प्रस्ताव आह्वान गरेको थियो । सोही प्रस्तावमा आवेदन दिएका कम्पनीहरुमध्ये पुल रंगाउन फेसन पेन्ट्स छनोट भएको हो ।
आयोजनाले फेसन पेन्ट्ससँग असोज मसान्तसम्ममा पुल रंगरोगनको काम सक्नेगरी सम्झौता गरेको थियो । कोभिड(१९ )का कारण काम सुरु गर्नमा केही ढिलाइ भएको भए पनि कम्पनीले सम्झौता अवधिभन्दा करिब १० दिनअघि नै रंगरोगन सकेको छ । सम्झौता बमोजिम यी दुवै आर्कब्रिजमा फेसनले पाँच वर्षसम्म पेन्टस् सौजन्य पाएको छ । जसअनुरुप कम्पनीले तेस्रो वर्षमा पुनः रंगरोगनको काम (रिपेन्टिङ) गर्नु पर्नेछ ।
हाल यी दुवै पुलमा रंगरोगनका लागि आयोजनाले नै स्पेसिफिकेसन तोकेर डिजाइन तयार पारेको थियो । सोही स्पेसिफिकेसन अनुसारको गुणस्तरको रंग लगाएको कम्पनीले आयोजनाले तयार पारेको डिजाइनमा भने सवारी साधन आवतजावतमा बाधा नपुगोस् भन्ने हेतुले ड्राइभिङ फ्रेन्ड्ली हुनेगरी सुझाएर सादा सेतो रंग लगाएको छ । जसमा पुलको माथिल्लो भागमा भने माथिबाट हेर्दा नेपाली झण्डाको जस्तो नीलो र रातो रंग लगाइएको छ ।
दुवै पुलको रंगरोगनमा फेसन पेन्ट्सले आफैंले उत्पादन गरेको सबैभन्दा प्रिमियम गुणस्तरको रंग ’वेदरप्रुफ प्रिमियम एक्सटेरियर इमल्सन’ प्रयोग गरेको छ । कम्पनीले आफ्नो सबैभन्दा उत्कृष्ट उत्पादन बताएको यस रंगमा आम उपभोक्ताका लागि ७ वर्षको वारेन्टी दिएर बिक्री गरिरहेको छ ।
फेसन पेन्टस्ले दैनिक ८ देखि १० जनासम्म श्रमिक खटाएर १७ दिनमा पुल रंगाउने काम पूरा गरेको हो ।
रंगरोगनमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै कामदारहरु परिचालन गरेको कम्पनीका अधिकारीहरुले बताए ।
यी दुइटै पुललाई रातिको समयमा जीवन्त राख्न केही समयअघि बत्ती समेत जडान गरिएको छ ।