जंगलमा विप्लवको गोप्य सैन्य तालिम सञ्चालन, सरकारसँग प्रतिरक्षाकाे तयारी

होमल्याण्ड खबर

२०७७ मंसिर ५ गते, शुक्रबार १३:०७ मा प्रकाशित

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सैन्य तालिममा संलग्‍न रहेको खुलेको छ । कोरोना महामारीको मौका छोपेर सो समूहले पूर्व र पश्चिम नेपालका विभिन्‍न जिल्लाका जंगलमा गोप्य सैनिक तालिम सञ्चालन भइरहेको खुलेको हो ।

सुरक्षा निकायलाई प्राप्त जानकारीअनुसार विप्लव समूहको जनमुक्ति सेनाको गण्डक ब्युरोअन्तर्गतको सैन्य तालिम सम्पन्‍न भएको छ ।एक उच्च सुरक्षा अधिकारीका अनुसार तनहुँको पहाडी क्षेत्र, सोलुखुम्बु, कालीकोट, जुम्ला, जाजरकोटमा सैन्य तालिम सम्पन्‍न भइसकेको छ भने डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पामा सैन्य तालिम सञ्चालन गर्ने तयारी छ ।

सत्तारुढ दलको विवाद उत्कर्षमा पुगेको र सरकारको लोकप्रियता खस्किँदै गएको निष्कर्ष निकाल्दै विप्लव समूहले सरकारले दमनको नीति लिएकाले प्रतिरक्षाका लागि तालिम आवश्यक समूहको दाबी छ । विप्लव समूहको सैन्य दस्तामा अधिकांश पूर्वजनमुक्ति सेनाका लडाकु रहेको बताइएको छ । सैन्य तालिम र प्रशिक्षणमा सो पार्टीका जनसरकार प्रमुख सन्तोष बुढा, उदय चलाउनेलगायत सहभागी हुने गरेको पाइएको छ । ७ दिनदेखि २० दिनसम्मको तालिम दिइएको पाइएको छ ।

तालिममा राजनीतिक, सांगठनिक र हतियारबारे समेत प्रशिक्षण दिइएको छ । सो समूहलाई प्रतिबन्ध लगाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ । आन्तरिक सुरक्षामा विप्लव समूह नै मुख्य चुनौती रहेको सुरक्षा निकायको विश्लेषण छ । यसअघि सो समूहसँग वार्ता हुने चर्चा चले पनि एजेन्डामा कुरा नमिल्दा पछिल्लो समय वार्ताको कुरा सेलाएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेकपाले स्थानीय तहका जनप्रतिनिधिलाई निसाना बनाउँदै आएको छ । विभिन्‍न स्थानमा चन्दा आतंकसमेत मच्चाएको पाइएको छ भने कतिपय जनप्रतिनिधिलाई समेत अपरहण गरेको विभिन्‍न घटनाक्रमले पुष्टि भएको छ ।

एक उच्च सुरक्षा अधिकारीले भने, “सो समूहका गतिविधि हिंसाउन्मुख देखिएका छन् । ठाउँ-ठाउँमा नेता कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । विकट स्थानमा रहेका प्रहरी चौकी, स्थानीय तहलाई उनीहरुले निसाना बनाउने सम्भावना बढेको छ ।”